
बैतडी –बैतडीमा गएको असोज २५ गतेदेखि बेपत्ता भएकी एक किशोरीको अवस्था अझै अज्ञात रहेको छ । पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता भएको दुई महिना पुग्दा समेत उनको अवस्था अज्ञात हुँदा परिवारमा चिन्ता थपिएको छ ।
किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज, प्रहरी हवलदार कृष्णराज जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ । उनलाई गएको कार्तिक १३ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीमाथि किशोरी बेपत्ता गरेको आरोप लागेको छ ।
घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान गरेको थियो । प्रहरीले जोशीलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान गरेको थियो । जोशीमाथिको अनुसन्धान सकेपछि उनलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरिएको थियो । मानिस बेपत्ता पार्न नहुने कसुरमा जोशीमाथि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।
बेपत्ता किशोरी र जोशीबीच सम्बन्ध रहेको र सोही सम्बन्धका कारण जोशीले किशोरीलाई बेपत्ता पारेको आरोप लागेको छ । बेपत्ता हुनु अघि किशोरीले हवलदार जोशीसंग भेटघाट समेत गरेकी थिइन् ।
किशोरी बेपत्ता भएपछि सम्भावित सबै स्थानमा खोजबीन गर्दा उनको अवस्था पत्ता नलागेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
यता यो घटनाको अनुसन्धानका लागि सिआइबीको टोली समेत खटिएको छ । सिआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । तर अहिलेसम्म बेपत्ता किशोरीको अवस्थाका बिषयमा केही थाहा हुन सकेको छैन् ।
तत्कालिन प्रहरीचौकी इञ्चार्ज जोशी र ती किशोरीबीच सम्बन्ध रहेको कुरा खुलेको छ । विवाहित जोशीले ती किशोरीसंग विवाह गर्न इन्कार गरी बेपत्ता पारेको आरोप रही आएको छ । बेपत्ता हुनुअघि किशोरीले आफ्नो व्यवस्थापन गर्न जोशीलाई आग्रह समेत गरेकी थिइन् । उनले किशोरीको कुरा इन्कार गरेपछि यस्तो अवस्था आएको बताइएको छ ।