
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम वितरण गरेको छ । २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर गाउँपालिकाभित्रका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिहीबार प्रतिव्यक्ति ८ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।
गाउँपालिकाबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको कामको सम्मान गर्दै नगदसहित सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । हरेक बर्ष महिला स्वास्थ्य स्वयंसेविका दिवसको दिन प्रोत्साहन रकम वितरण गर्ने गरिएको उनले बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आगामी बर्षदेखि प्रोत्साहन रकम १० हजार पुर्याउने योजना रहेको उपाध्यक्ष कार्कीले बताइन्।
दोगडाकेदार गाउँपालिकाभित्र रहेका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ६ लाख ९६ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेकाले पालिकाकातर्फबाट प्रोत्साहन रकम दिने गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।