Sagun Khabar
बैतडीमा बिडिसिए इलाइट कप शुरु, पञ्चकोटीको विजयी शुरुवात 

बैतडी–बैतडीमा आजदेखि २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको इलाइट च्याम्पियनसिप शुरु भएको छ । 

प्रतियोगिताको एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरेका छन् । 

उद्घाटन समारोहपश्चात भएको पहिलो खेलमा पञ्चकोटी युवा क्लबले विजयी शुरुवात गरेको छ । पञ्चकोटीले सुखद शुरुवात गर्ने क्रममा त्रिपुरा क्रिकेट क्लबमाथि १५१ रनको शानदार जित निकाल्यो । 

Atrya hospital

जितका लागि पाएको २७७ रनको लक्ष्य पछ्याएको त्रिपुरा १६ ओभरमा १२६ रनमा समेटियो । उसका लोकेन्द्र थापाले ७५ रन जोडेपनि हार टार्न सकेनन् ।

पञ्चकोटीका म्यान अफ द म्याच भएका उमेश बुडालले ६ विकेट हात पारे । 

यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पञ्चकोटीले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा २७६ रन बनायो ।

उसका लागि नरेश लावडले ६८ र सुमित बुडालले ६० रनको योगदान गरे । त्रिपुराका लोकेन्द्र थापाले २ विकेट हात पारे । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिता मंसिर ३० गतेसम्म सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

प्रतियोगिता दुई चरणमा भइरहेको हो । यसअघि मंसिर ११ गतेदेखि १८ गतेसम्म प्लेट च्याम्पियनसिप भएको थियो । 

यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख नगद पुरस्कार दिइनेछ भने दोश्रो हुने टीमलाई नगद ५० हजार पुरस्कार दिइनेछ । 

यस्तै म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update