
बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाजमा समस्या भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिवनाथको प्रमुख प्रशासकीय अधिकृतमा खटाएका सरोज पाण्डेयको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो ।
गएको भदौ २६ गते शिवनाथमा खटाइएका पाण्डेय असोज ८ गते पालिकामा हाजिर भएका थिए । पालिकामा हाजिर भएको दुई महिना नपुग्दै पाण्डेयको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रमुख प्रशासकीय अधिकृत समयमा नपठाउँदा पालिकाका आर्थिक कामकाजहरु प्रभावित भएका गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा संघीय सरकारको शाखा अधिकृत रहने व्यवस्था गरिएको छ । तर संघीय सरकारले समयमा प्रमुख प्रशासकीय नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा पालिकाहरुले समस्या झेल्नुपरेको अध्यक्ष साउँदले बताए ।
बेलाबेलामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुँदा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कामका साथै विकास निर्माणका कामहरुमा समेत बाधा पुग्ने गरेको अध्यक्ष साउँदले बताए । यस्तै गाउँपालिकाले तय गरेका नीति तथा योजनाहरु कार्यान्वयनमा समेत समस्या हुने गरेको उनले बताए ।