Sagun Khabar
बैतडीमा कांग्रेसको सय दिने बिशेष अभियानको पहिलो चरण सम्पन्न 

बैतडी–नेपाली कांग्रेस बैतडीले सञ्चालन गरेको सय दिने बिशेष अभियानको पहिलो चरण सम्पन्न भएको छ । 

यही मंसिर १३ देखि दशरथचन्द नगरपालिकाको त्रिपुराबाट शुरु भएको पहिलो चरणको अभियान आज मेलौलीमा कार्यक्रम गरेर समापन भएको कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए । 

बिशेष अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा बैतडी पुगेका केन्द्रीय सदस्य आंगेलु शेर्पााको उपस्थितीमा अभियान अन्तर्गत कार्यक्रमहरु सञ्चालन गरिएको उपसभापति बिष्टले बताए । 

Atrya hospital

पहिलो चरणको कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकामा अभियान सञ्चालन गरिएको हो । 

नेपाली कांग्रेसको संगठनलाई गतिशील र चलायमान बनाउन, कांग्रेसका कार्यकर्ताहरुलाई सक्रिय बनाउन, महासमिति बैठकले गरेका निर्णयहरुको बारेमा जानकारी गराउने लगायतका उद्देश्यले सय दिने बिशेष अभियान सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

बैतडीको दशरथचन्द नगरपालिकाबाट शुरु भएको अभियानको पहिलो चरण मेलौलीमा पुगेर समापन गरिएको उनले बताए । अब जिल्लामा अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुरु हुने सभापति चन्दले बताए । 

मेलौलीमा आज बिशेष अभियानका मेलौली संयोजक शेरीराम पार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य आंगेलु शेर्पा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा सभापति चतुरबहादुर चन्द, उपसभापतिद्वय बिरबहादुर बिष्ट र खगेन्द्रसिंह धामी, पूर्व पार्टी सभापति नरेन्द्रसिंह थापा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सञ्चालनका लागि केन्द्रीय प्रतिनिधिसंगको परामर्शमा जिल्ला कार्यसमितिले मिति तय गर्ने उपसभापति बिष्टले बताए । अब जिल्लाका ८४ ओटै वडा र बाँकी रहेका पालिकाहरुमा अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

नेपाली कांग्रेसका कार्यकर्ताहरुमा उर्जा भर्न र कांग्रेसको नीति र विधानका बिषयमा जानकारी दिन अभियानले सहयोग पुर्याउने सभापति चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update