बैतडी–पञ्चकोटी युवा क्लब, बैतडीमा सम्पन्न २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पियन भएको छ ।
आज सम्पन्न फाइनल खेलमा ग्वाल्लेक क्रिकेट क्लबलाई ४८ रनले पराजित गर्दै पञ्चकोटी प्लेट च्याम्पियन भएको हो ।
प्लेट च्याम्पियन भएसंगै पञ्चकोटी इलाइट च्याम्पियनसिपका लागि पनि छनौट हुन सफल भएको छ । पञ्चकोटीले यसका साथै २५ हजार नगद पुरस्कार समेत हात पारेको छ ।
पहिला ब्याटिङ गरेको पञ्चकोटी २९.४ ओभरमा २२८ रनमा अलआउट भयो । उसका सुमित बुडाल र नरेश लावडले अर्धशतक बनाए । सुमितले ९६ र नरेशले ६४ रन बनाएका हुन् ।
ग्वाल्लेकका भोजराज जोशी र सुर्या जोशीले ३÷३ विकेट हात पारे ।
जवाफमा मैदान उत्रेको ग्वाल्लेक २९.३ ओभरमा १८० रनमा अलआउट भयो । जसमा उमेश जोशीले ५५ रन बनाए । पञ्चकोटीका सुमित बुडाल प्लेयर अफ द फाइनल चुनिएका स्कोरर गजेन्द्र चन्दले जानकारी दिए ।
च्याम्पियन टोलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशीलगायतले पुरस्कार वितरण गरे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि सञ्चालित प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा भइरहेको हो ।
इलाइट च्याम्पियनसिपका खेलहरू मंसिर २० गतेदेखि हुनेछन् ।
यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।