बैतडी- बैतडीमा २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि सुरू भएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहपश्चात् भएको पहिलो खेलमा महारूद्र क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै कालाशैनी क्रिकेट क्लबले विजयी सुरूवात गरेको छ । पहिला ब्याटिङ गरेको कालाशैनीले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा २१६ रन बनायो । जसमा सन्तोष चन्दले सर्वाधिक ३८ रन जोडे भने महारूद्रका राजेश भाटले ३ विकेट लिए । जवाफमा महारूद्र १७.५ ओभरमा ८९ रनमा अलआउट भयो । उसका सुरेश भाटले सबैभन्दा बढी १९ रन बनाए । कालाशैनीका सन्तोष चन्द र निखिल थापाले ३÷३ विकेट लिए । सन्तोष म्यान अफ द म्याच भए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ । मंसिर ३० गतेसम्म चल्ने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।
गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता टिम इलाइट च्याम्पियनसिपमा भिड्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्याँस) रहेको छ । यस्तै प्रायोजकमा पेप्सी,सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी,पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरु रहेका छन् ।