बैतडी–बैतडीको मेलौली नगरपालिका वडा नं–३ को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । तालाबन्दी गर्ने स्थानीय र वडाका जनप्रतिनिधिहरुबीच सहमति भएपछि शुक्रबार तालाबन्दी खोलिएको हो ।
वडामा स्थानीयहरुले मंगलबारदेखि तालाबन्दी गरेकोमा चारदिनपछि ताला खोलिएको स्थानीय धनबहादुर चन्दले बताए ।
आधारभूत स्वास्थ्य केन्द्र वडा कार्यालय नजिकै हुनुपर्ने माग गर्दै स्थानीयहरुले वडामा तालाबन्दी गरेका थिए ।
स्थानीयहरुके माग अनुसार वडा कार्यालय नजिकबाटै आधारभूत स्वास्थ्य केन्द्रको सेवा सुचारु गरिएपछि तालाबन्दी खोलिएको चन्दले बताए । वडा सदस्य माया भाट ठगुन्नाको निजी घरमा तत्कालका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रका लागि मेलौली नगरपालिकाले अहेव गणेशबहादुर चन्दलाई खटाएको छ ।
वडा कार्यालयमा गरिएको तालाबन्दी खुलेपछि वडा कार्यालयका सेवा सुचारु भएका वडा अध्यक्ष गगनसिंह भाटले जानकारी दिए ।