बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थित धुरा कैलपाल मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा यो मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
स्थानीयहरुले धुराबे जात भनेर भन्ने गरिएको यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गर्दछन् । यो बर्षको जात्रामा पनि नेपाल र भारतका गरेर हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको थियो ।
धुरा कैलपाल देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । त्यसै अनुसार दर्शनार्थीहरु विभिन्न भाकलसहित मन्दिरमा पुग्ने गरेका स्थानीय नारायण सार्कीले जानकारी दिए ।
धुरा कैलपाल जात्रामा पूजापाठका साथै देउडा खेलेर रमाइलो गर्ने गरिन्छ । दशैँ–तिहारपछि हुने जात्राहरुमा धुरा कैलपाल जात्रा बैतडीको अन्तिम जात्रा रहेको सार्कीले बताए । यो जात्रामा आफन्तहरुले एकआपसमा सुखदुख साटासाट गर्नुका साथै भेटघाटका लागि समेत महत्वपूर्ण अवसरको रुपमा लिने गरेका छन् ।
धुरा कैलपालमा जात्रामा स्थानीय कृषि उपजका साथै स्थानीयस्तरमा निर्माण गरिएका विभिन्न वस्तुहरुको किनमेल हुने गरेको सार्कीले बताए । निगालोबाट बनेका वस्तुहरु, काठबाट निर्माण गरिएका वस्तुहरु, विभिन्न औजारहरुको विक्रिवितरण हुने गरेको उनले बताए ।
धुरा कैलपाल जात्रालाई व्यवस्थित बनाउन मेला क्षेत्रलाई जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । यस्तै जात्रामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पञ्चेश्वर गाउँपालिकाले दुई सार्वजनिक बिदा समेत दिएको थियो । बिहीबार र शुक्रबार (आज) गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
स्थानीयस्तरमा सञ्चालन हुने यस्ता जात्रा तथा मेलाहरुले सामाजिक सदभाव कायम गर्नुका साथै आर्थिक उन्नतीमा समेत टेवा पुर्याउने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।