बैतडी –दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्द देवकोटा नेतृत्वको टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन गरेर फर्किएको छ ।
छाङरुमा रहेका करीब एक सय धुरीमा खानेपानी पुर्याउन प्राविधिक टोलीले अध्ययन गरेको हो । टिंकर खोला मूहानबाट छाङरुमा लिफ्टििङ प्रणालीमार्फत खानेपानी पुर्याइने कार्यालय प्रमुख देवकोटाले बताए ।
यो बर्ष खानेपानी योजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुने र आगामी बर्षदेखि निर्माणको काम हुने देवकोटाले बताए । यो बर्ष यो योजनाका लागि १ लाख मात्रै बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बीचमा बजेट थपेमा केही काम शुरुवात गर्न सकिने उनले बताए ।
समुद्री सतहबाट तीन हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट करीब डेढसय मिटर उचाइमा पानी तान्नुपर्ने बताइएको छ । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ । सौर्य उर्जाको प्रयोग गरेर मूहानबाट गाउँमा पानी तानिने उनले बताए ।
अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुलाको खलङ्गा झरीसकेका थिए ।