Sagun Khabar
बैतडीको पञ्चेश्वरमा दुई दिन सार्वजनिक बिदा

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । 

गाउँपालिकाको वडा नं –४ स्थित धुरा कैलपाल मन्दिरमा जात्रा लाग्ने भएकाले भोलि(बिहीबार) र पर्सि (शुक्रबार) सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

धुरा कैलपालमा मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुईदिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

Atrya hospital

भोलि र पर्सि गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा सार्वजनिक बिदा रहेको उनले बताए । 

सुदूर पहाडमा कार्तिक शुक्ल पक्षबाट शुरु भएको जात्रा अन्तर्गत बैतडीमा धुरा कैलापाल मन्दिरको जात्रा अन्तिम जात्रा रहेको स्थानीय नारायण सार्कीले बताए । स्थानीयहरुले धुरा जात भनेर सम्बोधन गर्ने उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ । 

धुरा कैलपाल मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्ने गर्दछ । 

धुरा कैलपाल मन्दिरको जात्रामा सहभागी हुने दर्शनार्थीहरुको सहजताका लागि गाउँपालिकाले खानेपानीको व्यवस्थापन गरेको सार्कीले बताए । जबलपुर मावि सैलोडाको खानेपानी ट्यांकीबाट तत्कालका लागि मोटरबाट पानी तानेर मन्दिरमा पुर्याइएको उनले बताए । 

यस्तै जात्रामा सहभागी हुने दर्शनार्थीहरुको सहजताका लागि बिजुलीबत्ती पनि जडान गरिएको धुरा मेला व्यवस्थापन समितिकी अध्यक्ष कमला चन्दले बताइन् । मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मेला लाग्ने क्षेत्रमा जुवातास तथा मदिरा निषेध गरिएको उनले बताइन् । 

pancheswor-1732093080.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update