Sagun Khabar
सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध 

बैतडी –एक्कासी पहिरो खसेपछि दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध भएको छ । मोड सुधारको काम चलिरहेको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जेउडेमा पहिरो खसेको हो । 

मोड सुधारको काम भइरहेको ठाउँमा डोजरले खन्दा माथिबाट पहिरो खसेको बताइएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । यस्तै चमेलिया विद्युत आयोजनाको १५० वाटको टावर समेत धरापमा परेको छ । 

Atrya hospital

जेउडेमा एक महिना अघिदेखि मोड सुधारको काम भइरहेको भएपनि आइतबार साँझ साढेपाँच बजेतिर सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । 

उक्त सडकमा केशर कन्सट्रक्सनले मोड सुधारको काम गर्दै आएको छ । आइतबार साँझ पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । एक्कासी पहिरो खस्दा स्थलगत निरीक्षणमा खटिएका कर्मचारी ज्यान जोगाएर भाग्न सफल भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख जोशीले बताए । 

रातिको समयमा पहिरो पन्छ्याउन नसकिएपछि आज बिहानैदेखि पहिरो पन्छ्याउने काम शुरु हुने जोशीले बताए । हिजोदेखि सडक अवरुद्ध हुँदा तराईबाट बैतडी र दार्चुलाका लागि छुटेका गाडी तथा बैतडी र दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । 

पहिरो निरन्तर खसिरहेकाले रातिको समयमा काम गर्न नसकिएको आज पहिरो पन्छ्याउने काम हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update