दार्चुला –यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एक स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
वडा अध्यक्षको लागि नेपाली काग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका बीरसिंह कार्की र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकातर्फबाट निर्वाचित भएका वडा अध्यक्ष मनोरथ भट्टको मृत्यु भएपछि यो वडामा उपनिर्वाचन हुन लागेको हो ।
दुहुँ गाउँपालिका वडा नम्बर ५ मा यो पटक ६ सय ४९ जना पुरुष र ६ सय २३ जना महिला गरि कुल १ हजार २ सय ७२ जना मतदाता रहेका छन् ।
निर्वाचनको लागि दुर्गास्थान आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको छ, भने क र ख मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डले जानकारी दिए ।