बैतडी –बैतडीमा बन्दुक देखाएर स्थानीयहरुलाई तर्साउने दुईजनामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका –९ लमौताका ३६ बर्षीय तारादत्त जोशी र ४३ बर्षीय महेशदत्त जोशीमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
शुक्रबार राति ८ बजेको समयमा मादक पदार्थ सेवन गरेर उनीहरुले स्थानीयहरुलाई त्रसित पारेको आरोप लागेको छ । नागार्जुन प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति दुवै जनालाई एकनाथ भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको थियो ।
आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर दुवैजनामाथि हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
उनीहरुसंग बन्दुकको इजाजत समेत नरहेको बताइएको छ । इजाजत नभएको बन्दुक फेला परेपछि बन्दुक कहाँबाट, कसले कसरी ल्याए भन्ने बिषयमा पनि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । इजाजत बिना हातहतियार राख्न नपाउने कानुन रहेको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।