दार्चुला –दार्चुला जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तले बुझेका छन् । दुर्घटनामा मृत्यु भएका आठै जनाको शव आफन्तहरुले बुझिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।
शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बगजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।
मृत्यु भएकाहरुको शवको पोष्टमार्टम गरेर आफन्तहरुको जिम्मा लगाइएको प्रहरी निरीक्षक रावतले बताए । गोकुलेश्वर अस्पतालमा मृतकहरुको शवको पोष्टमार्टम गरिएको हो ।
मालिकार्जुन मन्दिरको जात्राबाट फर्किरहेका दर्शनार्थीहरु चढेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन् । घाइतेहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुलाई हिजो नै नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुर्याइएको थियो ।
दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिकाका चार जना, बैतडीको डिलाशैनी गाउँपालिकाका दुई जना र दुई जना भारतीय नागरिकको ज्यान गएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ बर्षीय दिलिपसिंह बिष्ट, शैल्यशिखर नगरपालिका ९ गाँजरीकी ४० बर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र उनकी श्रीमति २५ बर्षीया शान्ति रावल रहेकी छन् ।
यस्तै बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका ५० बर्षीय विरेन्द्र बोहरा र उनका १७ बर्षीय भतिजा अस्मित बोहराको दुर्घटनामा परेर मृत्यु भएको छ ।
यस्तै भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने २० बर्षीय बसिम खानको पनि दुर्घटना परी मृत्यु भएको प्रहरी निरीक्षक रावतले बताए ।
यस्तै दुर्घटनामा परेर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ४१ बर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ७ बर्षीय सन्दीप रावल, शैल्यशिखर नगरपालिका –५ का प्रकाशसिंह डाँगा र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाहको धनगढी उपचार भइरहेको छ ।
जिप सडकबाट एक सय मिटर तल खसेको थियो । दुर्घटनाको एकीन कारण पत्ता नलागेपनि तीव्र गति र अनिँदोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।