डडेल्धुरा –नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीमा संलग्न सबैलाई कारवाही हुने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् । उनले भने ‘ जुनसुकै पार्टीका भए पनि सहकारी ठगीमा संलग्नलाई कारबाही हुन्छ । सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको छ ।’
डडेल्धुरामा शिवशिखर सहकारीले ठूलो रकम ठगी गरेको बताउँदै सभापति देउवाले यसमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउने बताए ।
२०८४ सालको निर्वाचनमा आफू चुनाव लड्ने÷नलड्ने बिषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावमा उठ्ने बिषय मतदातालाई सोध्नुपर्ने बताए ।
सुदूरपश्चिमको राजधानी डडेल्धुरामा सार्ने बिषयमा आफूले आश्वासन नदिएको उनले बताए । उनले भने ‘पहाडमा पूर्वाधारको अभाव भएका कारण राजधानी बनाउन समस्या भएको हो भनेर बोलेको हुँ । राजधानी नै सार्छु भनेको छैन ।’
उनले डडेल्धुराको भित्रीमधेस क्षेत्रमा महाकाली नदीमाथि पक्की पुल पनि बन्ने दाबी गरे । भारतका प्रधानमन्त्रीले पुल निर्माणका लागि आश्वासन दिएको भन्दै उनले पुल निर्माण हुने बताए ।
डडेल्धुरामा विमानस्थल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढ्ने उनको दाबी थियो । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । लिखित सहमितअनुसार अहिलेको गठबन्धन ०८४ सालसम्म नै चल्ने बताएका हुन् । दुई बर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए ।