दार्चुला –शुक्रबार बिहान दार्चुलामा भएको जिप दुर्घटनामा एक दम्पतीको बीचबाटोमै निधन भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र उनकी २५ बर्षीया श्रीमति शान्ति रावलको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु भएका ८ जनामध्ये उनीहरु दुईजना श्रीमान–श्रीमति रहेका स्थानीय समेत रहेका गोकुलेश्वर माविका शिक्षक भुवन डाँगाले बताए ।
रावल दम्पती जिप दुर्घटनामा अस्ताएका छन् भने उनीहरुका एकमात्रै नाबलक छोरा ८ बर्षीय सन्दीप रावल घाइते भएका छन् । घाइते भएका पाँच जना मध्ये सन्दीप पनि एक रहेका डाँगाले बताए । अहिले उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
जिप दुर्घटनामा ८ बर्षीय सन्दीपले आमा–बुवाको काख सदाका लागि गुमाएका छन् भने आफू घाइते भएर अस्पतालमा बेडमा पुगेका छन् ।
बिहीबार राति प्रसिद्ध मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेर्न र दर्शन गर्न पुगेका रावल दम्पती कहिले नआउने गरि अस्ताएपछि लेकगाउँ शोकमा डुबेको डाँगाले बताए ।
रावल दम्पतीमा घरमा बुढेसकालका आमा–बुवा छन् भने विरेन्द्र रावलका एकजना भाइ छन् ।
शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत विरेन्द्रको दुर्घटना परेर निधन भएपछि उनको घरको साहरा ढलेको छ । एकै घरमा दुई जनाको निधन र एक बालक घाइते भएपछि अहिले गाउँ शोकमा डुबेको डाँगाले बताए । अकल्पनीय दुर्घटनाले सिंगो गाउँलाई रुवाएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आउँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा शैल्यशिखर नगरपालिकाकामात्रै चार जनाको मृत्यु भएको छ ।
आज भएको जिप दुर्घटनाले सिंगो शैल्यशिखर शोकमा डुबेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । नगरपालिकाले आज शोक बिदा समेत दिएको छ ।