डडेल्धुरा –नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा विमानस्थल बन्ने भनिएको ठाउँ पुइलेकको स्थलगत निरीक्षण गरेका छन् ।
बिहीबार अजयमेरु गाउँपालिका–१ स्थित विमानस्थलका लागि प्रस्ताव गरिएको क्षेत्र पुइलेकमा सभापति देउवाले निरीक्षण गरेका हुन् ।
केही दिनदेखि गृह जिल्ला डडेल्धुरामा रहेका सभापति देउवाले पुइलेकमा स्थलगत निरीक्षण गरेर विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरिने बताए ।
विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको र अब डिटेल सर्भे र डिटेल डिजाइनिङ गरिने उनले बताए ।
बिहीबार पुइलेक र चमडामा भएको भेटघाट कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नेपाली कांग्रेस अजयमेरु गाउँपालिका सभापति टेकराज पाण्डेयले बताए ।
कार्यक्रममा सहभागी भएका देउवाले उग्रतारा–मेलौली सडक, अनारखोली–खतेडा–मगराउँ सडकको स्तरोन्नती गर्ने दाबी गरेका छन् । यस्तै देवल खानेपानी र बसना गाडमा पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले बताए ।
सभापति देउवा मंसिर २ गते संघीय राजधानी फर्कने कार्यक्रम रहेको छ ।