बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२ मेल्लाउकी १७ बर्षीया किशोरी भुवनेश्वरी भण्डारीको उपचारमा युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
१७ बर्षकै कलिलो उमेरमा भण्डारीलाई हड्डीको क्यान्सर भएपछि उनको उपचारका लागि सहयोग अभियान सञ्चालनमा रहेको छ । अभियान अन्तर्गत निङ्गलाशैनी मावि देहीमाण्डौंबाट २०६६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ग्रुप बनाएर आर्थिक सहयोग संकलन गरेको स्थानीय प्रकाश बोहराले बताए ।
स्थानीय चक्र बोहरा (मिलन) र प्रदीप बोहरा (प्रियान्सी)को अगुवाईमा ४५ हजार ८८७ रुपैयाँ संकलन भएको बताइएको छ । उक्त रकम मध्ये भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै ५सय रुपैयाँ निङ्गलाशैनी मन्दिरमा भेटी चढाइएको छ भने ४५ हजार ३८७ रुपैयाँ पीडितको खातामा जम्मा गरिसकेको बोहराले बताए ।
भुवनेश्वरीको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक सहयोग अभियान सञ्चालनमा रहेको र विभिन्न ठाउँबाट सहयोग संकलन भइरहेको बताइएको छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा चेकजाँच गराउँदा भुवनेश्वरीलाई क्यान्सर भएको पुष्टि भएको थियो ।
भुवनेश्वरीको पहिलादेखि हात दुख्ने समस्या रहेको र त्यसको चेकजाँच गराउँदा क्यान्सर पुष्टि भएको उनका बुवा करनसिंह भण्डारीले बताए ।
भुवनेश्वरीको उपचारमा १० लाख रुपैयाँ जति खर्च लाग्ने भएकाले परिवारको आर्थिक अवस्थाले उनको उपचार सम्भव नभएको स्थानीय समेत रहेका एमाले दशरथचन्द नगरकमिटिका अध्यक्ष मनोज बोहराले बताए ।
भुवनेश्वरीका बुवा करनसिंह भण्डारी मजदुरी गरेर घरपरिवार चलाउँदै आएका छन् । छोरीलाई क्यान्सर भएपछि अहिले उनी आर्थिक समस्यामा परेका छन् । भुवनेश्वरीको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्दै सहयोग अभियान सञ्चालन गरिएको बोहराले बताए ।
भुवनेश्वरीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले प्रभु बैंक देहीमाण्डौंमा प्रेमसिंह भण्डारीको नाममा रहेको खाता नम्बर ३६७०२६९२५१००००१६, ग्लोबल आइएमई बैंकमा करनसिंह भण्डारीको नाममा रहेको खाता नम्बर ३१०७०१०१३६९८३ र भारतमा रमेशसिंह भण्डारीको गुगल पे नम्बर ९६६७३४८९२४ मा रकम जमा गर्न सक्नेछन् ।