बैतडी–दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रकै सातौं धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुनमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
शैल्य मालिकार्जुनको जात्रामा नगरपालिकाले सार्वजनिक बिदा दिँदै आएकाले यो बर्ष पनि जात्राको अवसरमा दुई दिन बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए ।
कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा र कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा जात्रा हुने गर्दछ ।
मालिकार्जुन धाममा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
दार्चुलाका अधिकांश ठाउँमा अहिले जात्राको रौनक छाएको छ । कार्तिक शुक्ल पक्षभरी विभिन्न मठमन्दिरहरुमा जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।