Sagun Khabar
राताशीला जात्रामा ‘गीर’खेल्ने चलन 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–१ हाटस्थित राताशीला मन्दिरको जात्रामा गीर(भकुण्डो) खेल्ने चलन रही आएको छ । हरेक बर्ष राताशीला महादेव मन्दिरमा हरिबोधिनी एकादशीको दिन ठूलो जात्रा लाग्ने गर्दछ । 

कार्तिक शुक्ल दशमीको राति र हरिबोधिनी एकादशीको दिन राताशीला मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय डम्मर कुँवरले जानकारी दिए । कफलखाना गिरेगडा जात्राको नामले परिचित राताशीला मन्दिरको जात्रा आज लागेको उनले बताए । 

Atrya hospital

उक्त जात्रामा बैतडीका मात्रै नभएर विभिन्न स्थानमा दर्शनार्थीहरु पुग्ने गरेका छन् । कफलखाना गिरेगडाको जात्रामा छालाको गीर अर्थात भकुण्डो खेल्ने चलन रही आएको छ । 

राताशीला देवताका धामी काँपेर भकुण्डो फालेपछि स्थानीयहरुले गीर खेल्ने गरेको कुँवरले बताए । रौत र टिकट दुई समूहमा विभाजन भएका स्थानीयहरुले आफ्नोतिर गीर लग्नका लागि बल गर्ने गरेका छन् । जसको समूहले भकुण्डो लग्न सक्यो उसैको जित भएको मानिने चलन रही आएको छ । 

राताशीला महादेव मन्दिरमा रैकाल जातिले पूजाआजा गर्ने र सबैले प्रसाद ग्रहण गर्ने चलन रही आएको छ । राताशीला मन्दिरमा लाग्ने कफलखाना गिरेगडा जात्रालाई सामाजिक सदभावको जात्राको रुपमा लिने गरिएको स्थानीय करनप्रसाद भट्टले बताए । 

जात्राको अवसरमा पुर्चौंडी नगरपालिकाले हिजो र आज गरेर दुईदिन सार्वजनिक बिदा समेत दिएको छ । जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागितालाई दृष्टिगत गरेर सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update