Sagun Khabar
बैतडीको डिलाशैनीमा बौलाहा कुकुरको टोकाइबाट घाइते हुनेको संख्या १० पुग्यो 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ मा बौलाहा कुकुरको टोकाइबाट घाइते हुनेको संख्या दश पुगेको छ । पहिला कुकुरको टोकाइबाट सात जना घाइते भनिएपनि थप तीनजना घाइते सम्पर्कमा आएका डिलाशैनी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कृष्णकुमार धामीले बताए । 

बझाङबाट आएको बौलाहा कुकुरले शुक्रबार र शनिबार गरेर वडा नं १ को डोरेपानी, एकलाला र रामलाका १० जनालाई टोकेको अध्यक्ष धामीले बताए । यस्तै बौलाहा कुकुरले रामलाका स्थानीय जयानन्द भट्टले पालेका एक खसी र एक बाख्रालाई समेत टोकेको थियो । 

Atrya hospital

बौलाहा कुकुरले गाउँमा आतंक मच्चाएपछि स्थानीयहरुले घेरा हालेर मारेका छन् । 

कुकुरको टोकाइबाट घाइते हुनेमा वडा नं १ डोरेपानीका नवीनबहादुर राना, नारायण राना, रमेशबहादुर राना, खुइले राना, महादेव राना, लीला राना, महेश राना र अशोक धामी रहेका छन् । 

यस्तै रामलका भानदेव भट्ट र एकलालाका नवीनबहादुर धामीलाई समेत बौलाहा कुकुरले टोकेको वडा अध्यक्ष धामीले बताए । 

बौलाहा कुकुरको टोकाइबाट घाइते भएकाहरुमध्ये केहीले गोकुलेश्वर अस्पताल र केहीले बह्रम आधारभूत स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप लगाइसकेका वडा अध्यक्ष धामीले बताए ।

यस्तै बौलाहा कुकुरको टोकाइबाट घाइते खसी र बाख्रालाई पनि रेबिजविरुद्धको खोप लगाइसकेको बताइएको छ ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update