Sagun Khabar
स्कुल ओलम्पिक अन्तर्गत तेक्वान्दोमा नेपाललाई एक स्वर्णसहित तीन पदक 

बैतडी –बहराइनको राजधानी मनामा सम्पन्न भएको स्कुल ओलम्पिक अन्तर्गत नेपालले तेक्वान्दोमा एक स्वर्णसहित तीन पदक हात पारेको छ । अक्टुबर २३ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १८ बर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको थियो । 

उक्त प्रतियोगितामा तेक्वान्दोमा क्यूरोगीतर्फ नेपाल उज्वल वाग्लेले स्वर्ण पदक हात पारेका छन् भने पुम्सेतर्फ वाग्लेले नै कास्य पदक हात पारेका छन् । यस्तै पुम्सेतर्फ नेपालकी निविता  केसीले रजत पदक हात पारेको राष्ट्रिय तेक्वान्दो संघका अफिसियल प्रकाश साउँदले बताए । 

Atrya hospital

प्रतियोगितामा तेक्वान्दोतर्फ ५ जना खेलाडी, २ जना अफिसियल र २ जना कोचको सहभागिता रहेको थियो । 

तेक्वान्दोतर्फको टोली बिहीबार स्वदेश फर्किसकेको अफिसियल साउँदले बताए । 

टोलीलाई चन्द्रागिरी तेक्वान्दो डोजाङले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको थियो । ओलम्पिक प्रतियोगितामा नेपालसहित ७० देशको सहभागिता रहेको थियो । आइएसएफले यो प्रतियोगिता हरेक दुई बर्षमा सञ्चालन गर्दै आएको साउँदले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update