Sagun Khabar
बैतडीका एक युवक बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह 

बैतडी –बैतडीका एक युवक बेपत्ता भएका छन् । रोजगारीको सिलसिलामा साउदी अरब गएका मेलौली नगरपालिका–२ सलेना घर भएका ३९ बर्षीय जयबहादुर चन्द बेपत्ता भएका हुन् । 

२०७९ पुस २२ गते एक म्यानपावर कम्पनीका एजेन्ट सुमन खापुङमार्फत साउदी पुगेका चन्द पछिल्लो तीन महिनायता सम्पर्कविहिन भएका उनको पारिवारिक श्रोतले जनाएको छ । साउदी अरबबाट चन्दले पछिल्लो पटक २०८१ साउन १७ गते आफ्नी श्रीमति बिरमा चन्दसंग मेसेन्जरमा कुरा गरेको र त्यसपछि उनी सम्पर्क विहिन भएका छन् । 

साउदी अरब गएदेखि नै चन्दले राम्रो काम नपाएको र कमाइ नभएको आफ्नी श्रीमतिले बताउँदै आएका थिए । २०८० फागुनमा सामान्य घरखर्च चलाउन पैसा पठाएपनि त्यसपछि उनले पैसा समेत पठाएका थिएनन् । 

Atrya hospital

अर्कोतिर चन्दले २०८१ भदौ २१ गते धनगढीमा रहेका आफ्नी दीदी–भिनाजुसंग मेसेन्जरमा कुराकानी गर्दै आफू यतिञ्जेल साउदीको जेलमा बसेको र जेलबाटमुक्त भएर काठमाण्डौं आइसकेको बताएका थिए । मेनपावरसंग केही लेनदेनको काम बाँकी रहेकाले छिट्टै धनगढी फर्केर उनले भेट्ने बाचा समेत गरेका थिए । तर त्यसपछि उनी सम्पर्क विहिन हुँदा घरपरिवार चिन्तामा परेका छन् । 

घरको कमाउने मान्छे नै बेपत्ता भएपछि घरपरिवार चलाउन निकै समस्या भएको उनकी श्रीमति बिरमा चन्दले बताएकी छिन् । प्रहरीमा उनले दिएको निवेदनमा आफ्नो श्रीमानको खोजी गरिदिन आग्रह समेत गरेकी छन् । चन्दको घरमा दुई छोरी र श्रीमति रहेका छन् । 

आफूले ज्याला मजदुरी गरेर घरपरिवार चलाउँदै आएको बताउने बिरमाले आफ्नो श्रीमानको खोजी गरिदिन सरकारलाई आग्रह समेत गरेकी छिन् ।

उनले प्रहरीमा बुझाएको निवेदनमा आफ्नो श्रीमान साउदीकै जेलमा हुन सक्ने, नेपाल फर्केर मेनपावर र ऐजेन्टसंगको विवादले हत्या भएको हुन सक्ने, कुनै कसुरमा नेपालको जेलमा हुन सक्ने र काठमाण्डौंबाट सुदूरपश्चिम आउँदा कुनै दुर्घटना भइ मृत्यु हुन सक्नेतर्फ अनुसन्धान गरिदिन आग्रह गरेकी छन् । 

यस्तै बेपत्ता जयबहादुर चन्दको खोजीका लागि हेलो सरकारमा समेत अनलाइन निवेदन दर्ता गरिएको छ भने परराष्ट्र मन्त्रालयमा समेत निवेदन दिएको उनका आफन्त अधिवक्ता दिपेन्द्रबहादुर चन्दले बताए । 
बेपत्ता चन्दको खोजी कार्यमा सहयोग गरिदिन सबैलाई आग्रह समेत गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता जयबहादुर चन्दको खोजीका लागि सबै ठाउँमा हुलिया पठाइसकेको जनाएको छ । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update