Sagun Khabar
सुख्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी

कञ्चनपुर –उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णस्थलको आज निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निमार्णको काम सुरु गरिने बताए ।

Atrya hospital

उनले भारत सरकारले पनि बन्दरगाह चाँडो सम्पन्न गर्ने गरि चासो राखेकाले छिट्टै निमार्ण सम्पन्न हुने बताए ।

सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी समेत गरेको उनले बताए । 

सुख्खा बन्दरगाह निमार्णका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय भएपछि बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

उनका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । उनका अनुसार बन्दरगाह निमार्ण हुने मायापुरी सामुदायिक वनमा एक हजार ७०२ रुख काटिने छन् ।  
बन्दरगाहमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने उनले बताए ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update