Sagun Khabar
पाटन प्रिमियर लिग : पञ्चेश्वर सुपर सिक्समा प्रवेश 

बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत पञ्चेश्वर गाउँपालिकाको टिम सुपर सिक्समा प्रवेश गरेको छ ।

आज सम्पन्न लिग चरणको खेलमा सिगास गाउँपालिकालाई २३६ रनको विशाल अन्तरले पराजित गर्दै पञ्चेश्वर सुपर सिक्समा पुगेको हो ।

पञ्चेश्वरले दिएको ३२८ रनको लक्ष्य पछ्याएको सिगास १८ दशमलब ५ ओभरमा ९१ रनमा अलआउट भयो । उसका नवराज धामीले सर्वाधिक रन बनाए ।

Atrya hospital

पञ्चेश्वरका भोजराज भट्ट,हिक्मत महरा र विरेन्द्र नाथले दुई दुई विकेट लिए ।

यसअघि श्रीकृष्ण मावि पाटनको मैदानमा पहिला ब्याटिंग गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३२७ रन बनायो । जसमा कप्तान अभिशेक पालले १६५, विरेन्द्र नाथले ५० रनको योगदान गरे ।

अभिशेकले पाटन प्रिमियर लिगको इतिहासकै एकै इनिंगमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाएका छन् । यसअघि खडक बोहराको नाममा उक्त कीर्तिमान रहेको थियो । गत संस्करणका खडकले १४२ रनको उच्च स्कोर बनाएका थिए । खडककाृे उक्त उच्च स्कोर बनाउने रेकर्ड समेत अभिशेकले भंग गरेर आफ्नो नाममा लेखाएका छन् ।

यसका साथै अभिशेक पाटन प्रिमियर लिगको इतिहासमै लगातार दुई खेलमा दुई शतक हिर्काउने खेलाडी समेत बनेका छन् । यसअघि हिजो सम्पन्न पाटन स्टार क्रिकेट क्लबकाविरुद्ध अभिशेकले १४२ रन बनाएका थिए । अभिशेक आजको खेलका म्यान अफ द म्याच समेत चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । 

सिगासका लागि सागर बोहरा र अनिल सिंह ऐरले एक एक विकेट हात पारे ।

आजै सम्पन्न अर्को खेलमा सागर स्पोट्स क्लब,सोराडले ग्वाल्लेक क्रिकेट क्लबलाई १८७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

जितका लागि पाएको २४३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा ११ दशमलब ५ ओभरमा ५५ रनमा समेटियो । उसका तर्कराज जोशीले सर्वाधिक १९ रन जोडे ।

सागर स्पोट्सका लागि ध्रुव नायकले ३ र कृष्ण चन्दले २ विकेट झारे ।

यसअघि पहिला ब्याटिंग गरेर सागर स्पोट्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षति २४२ रन हिर्कायो । म्यान अफ द म्याच समेत चुनिएका दिनेश रावतले १३८ रनको शतकीय पारी खेले । दिनेशले एकै ओभर तथा छ बलमा छ छक्का पनि हाने ।

पाटन प्रिमियर लिगको चौथो संस्करण चलिरहदा हालसम्म कुनै पनि ब्याटरले छ बलमा छ छक्का हिर्काउन सकेका थिएनन् । दिनेश छ बलमा छ छक्का हिर्काउने पहिलो ब्याटर समेत बनेका छन् । ग्वाल्लेकका सुनिल जोशीले ३,महेश चन्दले २ विकेट हात पारे ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए ।

द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update