Sagun Khabar
सिद्धेश्वर माविका विद्यार्थीहरु मैनबत्ती बनाउँदै 

बैतडी–बैतडीको पाटन नगरपालिका –९ स्थित सिद्धेश्वर नमुना मावि हुक्केडाँडाका विद्यार्थीहरु मैनबत्ती बनाउने कार्यमा जुटेका छन् । हरेक बर्ष तिहारका लागि यहाँ अध्ययनरत विद्यार्थीहरुले मैनबत्ती बनाउँदै आएका छन् । यो बर्षको तिहार नजिक आएसंगै उनीहरु मैनबत्ती बनाउने कार्यमा जुटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । 

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु मैनबत्ती बनाउने कार्यमा सरीक भएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले बताए । विद्यार्थीहरुलाई सीपयुक्त शिक्षा दिने उद्देश्यले उनीहरुलाई मैनबत्ती बनाउने तालिम दिएको र तालिमपछि विद्यार्थीहरुको सक्रियतामा मैनबत्ती उत्पादन कार्य भइरहेको विद्यालय कर्मचारी गोपाल महराले बताए । 

Atrya hospital

यस वर्षको तिहारका लागि यहाँका विद्यार्थीहरु मैनबत्ती निर्माणमा जुटेका हुन । विद्यार्थीहरुले ६ प्रकारका मैनबत्तीहरु निर्माण गरिरहेका छन् । विद्यार्थीहरुले उत्पादन गरेका मैनबत्तीहरु केही दिनमै बजारमा लगेर विक्रि गरिने विद्यालय कर्मचारी महराले बताए । 

मैनबत्ती बनाउने सीपले बालबालिकाहरुलाई भोलिका दिनमा जिविकोपार्जनमा टेवा पुर्याउनुका साथै तत्कालका लागि विद्यालयको आन्तरिक आम्दानीमा समेत वृद्धि हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए । उनले भने,‘हामीले हरेक बर्ष विद्यालयबाट मैनबत्ती उत्पादन गरिरहेका छौं । बालबालिकाहरुलाई मैनबत्ती उत्पादन गर्ने सीप सिकाइरहेका छौं । उनीहरुले मैनबत्ती उत्पादन गरिरहेका छन् । यसले विद्यालयको आन्तरिक आम्दानी हुने गरेको छ भने बालबालिकाहरुले पनि सीप सिकेका छन् ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update