Sagun Khabar
महिला कर्मचारीलाई महिनावारी भएको समयमा बिदा 

बैतडी–बैतडीको एक स्वास्थ्य संस्थाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ । 

जिल्लाको पञ्चेश्वर स्वास्थ्यचौकीले महिनावारी भएको समयमा महिला कर्मचारीहरुलाई बिदा दिने निर्णय गरेको हो । केही दिन पहिला बसेको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । 

Atrya hospital

महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले महिला कर्मचारीहरुलाई बिदाको व्यवस्था मिलाएको उनले बताए । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले अरु बेला शनिबार समेत बिदा पाउने स्थिती नरहेकाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको उनले बताए । 

महिनावारी भएको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने लगायतका समस्याहरु देखापर्ने र यो अवस्थामा आरामको आवश्यकता हुने भएकाले महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको हो । यो निर्णयले स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सहज हुने स्वास्थ्यचौकीले जनाएको छ । 

पञ्चेश्वर स्वास्थ्यचौकीमा ८ जना स्वाथ्यकर्मी तथा कर्मचारीमध्ये ६ जना महिला रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update