Sagun Khabar
‘म कांग्रेसमै छु’ : पूर्व मेयर चन्द 

बैतडी–बैतडीको पाटन नगरपालिकाका पूर्व मेयर केशवबहादुर चन्दले आफू नेपाली कांग्रेसमै रहेको बताएका छन् । २०७९ सालको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवार बनेका चन्दले आफू नेपाली कांग्रेसमै रहेको दाबी गरेका हुन् । 

चुनाव भएको झण्डै दुई बर्षपछि चन्दले शनिबार बैतडीको पाटनमा कांग्रेसका नेता र कार्यकर्ताहरुसंग अन्तरक्रिया गरेर आफू कांग्रेसमै रहेको बताएका हुन् । अन्तरक्रियामा बोल्दै चन्दले आफूले पार्टी विरुद्ध नभइ गठबन्धनविरुद्ध उम्मेदवारी दिएको बताए । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले अब चुनावमा गठबन्धन नगर्ने निर्णय समेत गरिसकेको बताउँदै चन्दले आफूले पहिला नै सो कुरा उठाएको दाबी गरे । उनले भने ‘म डेमोक्र्याकिटक मान्छे हुँ । नेपाली कांग्रेसले चुनावको बेला बैतडीमा संघीय संसदको उम्मेदवार उठाएन् त्यसको विरुद्ध मैले उम्मेदवारी दिएको हुँ । कांग्रेसको उम्मेदवारको विरुद्ध म कहिले लागेको छैन् ।’

Atrya hospital

पाटनमा नेपाली कांग्रेसका नेताहरु विष्णुदत्त जोशी,सिद्धराज भट्ट, करनसिंह कठायत, गौरीसिंह रावल, राजेन्द्रसिंह बिष्ट लगायतलाई साथमा राखेर चन्दले आफू कांग्रेसको संगठन विस्तारमा लाग्ने बताए । उनले भने,‘मैले लामो समय नेपाली कांग्रेसमा काम गरेको हुँ । अहिले पनि म नेपाली कांग्रेसमै छु । अब पार्टीको संगठन विस्तारको काममा लाग्छु ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले कांग्रेसको उम्मेदवार नभएका ठाउँमा गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुको कारवाही फुकुवा गरेकाले कांग्रेस नेता चन्दमाथिको कारवाही फुकुवा भइसकेको नेविसंघका केन्द्रीय सदस्य कपील केसीले बताए । 

अन्तरक्रिया कार्यक्रममा सहभागी कांग्रेसका नेता कार्यकर्ताहरुले केशवबहादुर चन्द कांग्रेसमै फर्केको खुसी व्यक्त गरेका छन् । चन्दले कांग्रेसमा आएपछि संगठन विस्तारमा सहज हुने उनीहरुको भनाइ रहेको छ । 

केशवबहादुर चन्द लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेका र तत्कालिन परिस्थितीमा केही कमजोरी भएपनि फेरि कांग्रेसमै फर्केकाले खुसी लागेको जिल्ला समन्वय समितिका पूर्व प्रमुख एवं कांग्रेस नेता सिद्धराज भट्टले बताए । 

यस्तै पूर्व जिविस उपसभापति एवं कांग्रेस नेता विष्णुदत्त जोशीले चन्द जहिले पनि प्रजातान्त्रिक विचारका व्यक्ति भएकाले उनी कांग्रेसमा फर्किनु निकै सुखद भएको टिप्पणी गरे । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको नगर प्रमुख बनेका चन्द २०७९ सालको आम निर्वाचनमा पार्टीको निर्णय विरुद्ध उभिएका थिए ।तत्कालिन समयमा पार्टीले बैतडीको वस्तुस्थिती नबुझेर निर्णय गरेको र अहिले पार्टी आफ्नै लाइनमा आएको बताउँदै चन्दले आफू जहिले पनि कांग्रेसमै रहेको दाबी गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update