Sagun Khabar
दशैँको अवधिमा सुदूरपश्चिममा २१ ओटा सडक दुर्घटना, १३ जनाको मृत्यु 

बैतडी–दशैँको अवधिमा सुदूरपश्चिममा २१ ओटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

असोज १७ गते घटस्थापनाको दिनदेखि असोज ३० गते कोजाग्रत पूर्णिमा सम्म १५ दिनको अवधिमा सडक दुर्घटनमा परेर ९ पुरुष, ३ महिला र एक शिशुको मृत्यु भएकाको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । 

Atrya hospital

यस्तै उक्त अवधिमा २५ पुरुष, ३ महिला र ३ बालबालिका गम्भीर घाइते भएका छन् भने १५ जनाको अवस्था मध्यम तथा सामान्य रहेको छ । 

दशैँको समयमा सबैभन्दा बढी कैलालीमा १७ ओटा सवारी दुर्घटना भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए । ती दुर्घटनाहरुमा ६ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् । 

यस्तै डडेल्धुरामा भएका २ वटा सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाउनुका साथै १४ जना घाइते भएका छन् ।

यस्तै दशैँको अवधिमा भएको सवारी दुर्घटनामा कञ्चनपुर र बझाङमा एक–एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिमा कञ्चनपुरमा ६ जना घाइते भएका छन् । प्रदेशका अन्य जिल्लामा भने यो अवधिमा दुर्घटना नभएको प्रहरीले जनाएको छ ।

प्रदेशमा दशैँको अवधिमा ७ सय ९२ मोटरसाइकल सहित एक हजार ८५३ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त सवारी साधन कारबाहीबाट १३ लाख ५८ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । गत वर्ष दशैँको  अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका १४ सडक दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update