Sagun Khabar
दशैँको समयमा बैतडीका शक्तिपीठमा एक हजार बढी पशुको बलि 

बैतडी–दशैँको समयमा बैतडीका विभिन्न शक्तिपीठहरुमा एक हजार बढी पशुको बलि दिइएको छ । दशैँको घटस्थापनादेखि विजयादशमीको दिनसम्म यहाँका शक्तिपीठ तथा मन्दिरहरुमा राँगा र बोकाको बलि दिने प्रचलन रही आएको छ । 

जिल्लास्थित भगवतीका मन्दिर तथा उदयदेव मन्दिरमा राँगा र बोकाको बलि दिइएको हो । हरेक बर्ष दशैँको समयमा शक्तिपीठहरुमा बलि दिने गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले बताए । जिल्लाभरीका बलि हुने शक्तिपीठ तथा मन्दिरहरुमा ५८५ राँगा र ५६६ बोका गरी १ हजार १५१ पशुको बलि चढाइएको छ । 

Atrya hospital

जिल्लाको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा सबैभन्दा बढी राँगा र बोकाको बलि दिइएको छ । महाष्टमीका दिन उक्त मन्दिरमा ३१७ राँगा र १९५ बोकाको बलि दिइएको थियो । 

यस्तै प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा सात राँगा र ४० बोकाको बलि दिइएको मन्दिरका मुखिया हिम्मत चन्दले जानकारी दिए । यो मन्दिरमा कार्तिक शुक्ल अष्टमीमा ठूलो जात्रा लाग्ने भएको त्यो बेला बढी बलि दिने चलन रही आएको छ । 

यस्तै मेलौलीस्थित मेलौली भगवती मन्दिरमा १ सय राँगा र १ सय २० बोकाको बलि दिइएको छ भने सुर्नया गाउँपालिका–५स्थित फालङशैनी भगवती मन्दिरमा १४ राँगा र सात बोकाको बलि दिइएको छ । यी दुवै देवीका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन समेत राँगाको बलिसहित जात्रा हुने गरेको छ । 

यस्तै डिलासैनी गाउँपालिका–५, स्थित कफलासैनी भगवती मन्दिरमा ३० राँगा र ३५ बोकाको बलि दिइएको छ भने पाटनस्थित उदयदेव मन्दिरमा ४१ राँगाको बलि दिइएको छ । 

शिवनाथ गाउँपालिकास्थित प्रसिद्ध कफाडी उदयदेव मन्दिरमा ६८ राँगा र १११ बोकाको बलि दिइएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव चन्दले जानकारी दिए । 

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं ९ स्थित प्रसिद्ध डिलाशैनी भगवती मन्दिरमा सात राँगा र ८० बोकाको बलि दिइएको पुर्चौंडी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रम्भा बोहराले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update