Sagun Khabar
सुर्नयाका स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउण्ड शिविर सञ्चालन, १सय १५ जनाले सेवा लिए 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सञ्चालन भएको निशुल्क अल्ट्रासाउण्ड शिविरमा १ सय १५ जना गर्भवती आमाहरुले सेवा लिएका छन् । 

मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्ने लक्ष्य अनुसार प्रत्येक स्वास्थ्य संस्थाहरुमा निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

यही असोज १३ देखि २१ गतेसम्म पालिकाका वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा सञ्चालन भएको शिविरमा गर्भवती आमाहरुले सेवा लिएका हुन् । स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउण्ड गर्न आएका १ सय १५ जना आमाहरुमध्ये ८ जनामा सामान्य खालका जटीलता देखिएका शिविरमा सेवा दिँदै आएकी अनमी शान्ति बडालले बताइन् । 

Atrya hospital

असोज १३ गते वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकी र वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा ३५ जनाले गर्भवती आमाहरुले सेवा लिएका थिए । 

यस्तै असोज १४ गते वडा नं ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको शिविरमा १० जना र असोज १५ गते वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा ११ जनाले सेवा लिएका थिए । 

यस्तै असोज १८ गते वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा २६ जना, असोज १९ गते वडा नं ३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा १२ जना, असोज २० गते वडा नं २ स्थित सतबाँझ सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको शिविरमा १७ जना र असोज २१ गते वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा चार जना गर्भवती आमाहरुले सेवा लिएका थिए । 

सुर्नया गाउँपालिकाका ८ वडामध्ये ७ ओटा वडामा रहेका स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालन गरिएको हो । वडा नं ५ स्थित रौलेश्वर स्वास्थ्यचौकीमा नियमित अल्ट्रासाउण्ड सेवा सञ्चालन भएकाले शिविर सञ्चालन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । गर्भवती आमाहरुले रौलेश्वर स्वास्थ्यचौकीमा जुनसुकै समयमा पनि निशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा प्राप्त गर्ने महराले बताए । 

निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गर्भवती आमाहरुको स्वास्थ्यको चेकजाँच गर्नुका साथै उनीहरुलाई गर्भावस्थाका बिषयमा जानकारी दिइएको शिविरमा सेवा दिँदै आएकी सिनियर अनमी मेनका शाहीले बताइन् । अल्ट्रासाउण्ड गर्दा गर्भवती आमा र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा थाहा हुने उनले बताइन् । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको उनले बताइन् । उनले भनिन्,‘अल्ट्रासाउण्ड गर्दा आमा र पेटभित्रको बच्चाको अवस्था हेर्छौं । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्छौं । गर्भवती आमाहरुले खानुपर्ने पोषिलो खानेकुराको बारेमा जानकारी दिने गरेका छौं ।’

गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरेपछि उनीहरुलाई सामूहिक रुपमा गर्भावस्था र ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिइएको उनले बताइन् । गर्भावस्थामा आउन सक्ने जटीलता, गर्भावस्थाको समयमा पोषिलो खानेकुराको महत्व, आइरन चक्की सेवन गर्नुको फाइदा, ८ पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराउनुको फाइदा लगायतका बिषयमा जानकारी दिइएको सिनियर अनमीले शाहीले बताइन् । 

गर्भावस्थाको समयमा परिवारका सदस्यहरुको भूमिका, गर्नुपर्ने पूर्वतयारी लगायतका बिषयमा गर्भवती आमाहरुसंग छलफल गरिएको उनले बताइन् ।

आमा र बच्चाको मृत्यु हुन नदिन पालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । गत बर्ष दुई सय बढी आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update