Sagun Khabar
बडादशैँको सातौं दिन फूलपाती भित्र्याइँदै 

बैतडी –बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । 

नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक आज पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता रहेको पाइन्छ । देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

Atrya hospital

प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । 
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा नवरात्रभरी दुर्गादेवीको पूजा आराधना गर्ने गरिन्छ । कतिपय ठाउँमा हिजै सप्तमी मानिएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज फूलपाती भित्र्याइने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । 

बडादशैँको अवसरमा प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी लगायतका भगवती मन्दिरहरुमा बिशेष पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, शिवनाथ, जगन्नाथ, महारुद्र, अनिरुद्र, उदयदेव, वासुलिङ्ग, दोगडाकेदार, गणमेश्वरलगायतका मन्दिरहरुमा पनि पूजाआजा गर्ने गरिएको छ । 

नवरात्रको समयमा शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । शरदीय नवरात्रमा शक्तिपीठ तथा मन्दिरहरुमा बिशेष पूजाआजासहित जात्रा हुने गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update