Sagun Khabar
उदयदेव मन्दिरको मैतड जात्रा भोलि र पर्सि, वडाले तोक्यो खाना र नास्ताको दररेट  

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं.–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा भोलि र पर्सि जात्रा लाग्ने भएको छ । उदयदेव मन्दिरमा हरेक बर्ष महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने गर्दछ । 

उदयदेव मन्दिरमा महाष्टमी भोलि र महानवमी पर्सि मानिएको मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए । दिनगन्तीका हिसाबले नवरात्र उपासना गर्ने प्रचलन अनुसार भोलि महाष्टमी र पर्सि महानवमी मानिएको उनले बताए । 

Atrya hospital

उदयदेव मन्दिरमा महाष्टमीको दिन राँगा बाध्ने र महानवमीको दिन राँगाको बलि दिने प्रचलन रही आएको पूजारी जोशीले बताए । 

उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा भन्ने चलन रही आएको छ । मैतडको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । 

जात्रामा आउने दर्शनार्थी तथा अन्य सहभागीहरुलाई सहज होस भनेर पाटन नगरपालिका वडा नं ६ को कार्यालयले खाना तथा नास्ताको दररेट कायम गरेको वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । जात्रामा सहभागीहरुलाई एउटै दररेटमा खाना र नास्ता खरीदमा सहज होस भनेर सर्वपक्षीय बैठकको परामर्श अनुसार दररेट तय गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

वडा कार्यालय तय गरेको मूल्यसूची अनुसार जेरी प्रतिकेजी ३ सय रुपैयाँ, मिठाई प्रतिकेजी ३ सय रुपैयाँ, सादा खाना प्रति खुराँक १ सय ५० रुपैयाँ, खसीको मासु हाफ प्लेट १ सय ५० रुपैया, कुखुराको मासु हाफ प्लेट १ सय  रुपैयाँमा विक्रि गर्नुपर्नेछ । 

यस्तै खसीको मासु प्रतिकेजी ८ सय रुपैयाँ, ब्रोइलर कुखुराको मासु प्रति केजी ४सय ४० रुपैयाँ, चना हाफ प्लेट २५ रुपैयाँ र चाउमीन हाफ प्लेट ५० रुपैयाँ दररेट कायम गरिएको वडा कार्यालयले जनाएको छ । 
तोकिएको दररेट भन्दा बढी मूल्य लिएको पाइएमा कारवाही हुने वडा कार्यालयले जनाएको छ । 

Rate-1728469297.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update