Sagun Khabar
बडादशैँ : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

बैतडी –आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीवार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरेको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । 

दोस्रो दिन ब्रह्मचारिणी , तेस्रो दिन चन्द्रघण्टा , चौथो र पाँचौँ दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । दुवै दिन सूर्योदय कालमा चौथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो । आश्विन शुक्ल षष्ठीका दिन हिजो स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।

Atrya hospital

पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भएको शास्त्रहरुमा उल्लेख गरिएको छ । 

यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा उल्लेख गरिएको छ । कात्यायनी भगवतीले चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् ।  यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ । यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ । यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

दशैंका नौ दिन सम्म दुर्गाभवानीका ९ स्वरुपको पूजाअर्चना गर्ने गरिन्छ । पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

नवरात्रका अवसरमा बैतडीका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी लगायतका भगवती मन्दिरहरुमा बिशेष पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, शिवनाथ, जगन्नाथ, महारुद्र, अनिरुद्र, उदयदेव, वासुलिङ्ग, दोगडाकेदार, गणमेश्वरलगायतका मन्दिरहरुमा पनि पूजाआजा गर्ने गरिएको छ । 

नवरात्रको समयमा शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । शरदीय नवरात्रमा शक्तिपीठ तथा मन्दिरहरुमा बिशेष पूजाआजासहित जात्रा हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update