बैतडी–बैतडीको पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन लाग्ने जात्राको चहलपहल शुरु भएको छ । यही असोज २४ र २५ गते मन्दिरमा जात्रा लाग्ने मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए ।
उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ । महाष्टमीको दिन मन्दिरमा राँगा ल्याउने र महानवमीको दिन राँगाको बलिदिने चलन रही आएको छ ।
उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिएको छ । जात्रालाई व्यवस्थित गर्नका लागि पाटन नगरपालिका वडा नं ६ को कार्यालयले विभिन्न निर्णय गरेको वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।
सोमबार बसेको सर्वपक्षीय बैठकले उदयदेव मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको वडा अध्यक्ष बिष्टले बताए ।
मन्दिर परिसरको चार किल्ला अन्तरगत पञ्चेश्वर सडकखण्ड, विमानस्थल क्षेत्र, डोबरा– सिलङ्गा सडक, तल्लो बजार सामुदायिक भवन लगायतका क्षेत्रभित्र असोज २४ र २५ गते मदिरा सेवन र कारोबारमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए । कसैले निर्णयको उल्लघंन गरेमा कानुन अनुसार कारवाही हुने बताइएको छ ।
यस्तै असोज २४ र २५ गते पाटन बजार क्षेत्रमा दिउँसो २ बजेदेखि राति १० बजेसम्म मात्रै मदिराको कारोबार गर्न पाइने निर्णय भएको छ ।
जात्राको समयमा विक्रि हुने खाना, मिठाई, नास्ता लगायतका खाद्यवस्तुहरुको दररेट निर्धारण गरिएको वडा अध्यक्ष बिष्टले बताए ।
जात्रा स्थलमा राखिने पसलको व्यवस्थापन, राँगा व्यवस्थापन, सरसफाइ, अस्थायी शौचाचलय निर्धारण गर्ने जिम्मेवारी उदयदेव धार्मिक क्षेत्र विकास समितिले पाएको छ ।
उदयदेव मन्दिरमा जात्रा नजिक आउन थालेपछि दर्शनार्थीहरुको संख्या समेत बढ्दै गएको छ ।उदयदेवको दर्शनका लागि काठमाण्डौं लगायतका क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने तर यो बर्ष बाढी पहिरोले बाटोको समस्या हुँदा दर्शनार्थीहरु केही कम भएको सहायक पूजारी जोशीले बताए ।