Sagun Khabar
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजाआराधना गरिँदै 

बैतडी –नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजपनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।

आज बिहान ६ बजेर १६ मिनेटसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले बताए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । 

Atrya hospital

आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य गर्नुपर्ने धर्मशास्त्रविद्हरुले बताएका छन् । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने भोलि हुने जनाइएको छ । सूर्योदय कालमा भोलि आश्विन शुक्ल पञ्चमी भएकाले स्कन्दमाताको पूजा भोलि हुने बताइएको छ । 

यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिए । दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।

चौथी तिथि वृद्धि भएपनि कतिपय ठाउँमा स्थानीय  परम्परा अनुसार दिनगन्तीका हिसाबले आज पाँचौं नवरात्रमा गरिने कृत्यहरु समेत गरिरहेका छन् । नवरात्रको पाँचौं दिन जात्रा हुने बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा आज पञ्चमीको जात्रा मनाउने तयारी भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update