Sagun Khabar
बैतडीको मेलौलीमा बजार अनुगमन : १ लाख बढीका म्याद नाघेका सामग्री नष्ट 

बैतडी–बैतडीको मेलौली नगरपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा १ लाख बढी मूल्यका म्याद नाघेका सामग्री बरामद गरेर नष्ट गरिएको छ । 

चाडपर्वको समयमा कालोबजारी हुन सक्ने, म्याद नाघेका सामग्री विक्रिवितरण हुन सक्ने अवस्थालाई मध्यनजर गरेर बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक एवं मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् । 

नगरपालिकाको मर्छले, काँडा, हरिपुर, जिरोपोईन्ट, लामालेक, सलेना,  दुर्गास्थान, कपर्त, स्यालतडी, बागोठ लगायतका ठाउँमा गरिएको अनुगमनका क्रममा १ लाख १ हजार १ सय २५ रुपैयाँ बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको उनले बताइन् । 

Atrya hospital

अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने दर्ता भएर नवीकरण नगरेकाहरुलाई नवीकरण गर्न आग्रह गरिएको छ । 

म्याद नाघेका सामग्री बिक्री वितरणमा कमी ल्याउन,खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्तालाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको उपप्रमुख बिष्टले बताइन् । 

अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्न नहुने कुरामा अझै व्यापारीहरु सचेत नभएका पाइएकाले यो बिषयमा उपभोक्ताहरु पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् । अनुगमन गर्दा पसलहरुमा मूल्यसूची राखेको नपाइएकाले मूल्यसूची राख्न निर्देशन दिइएको उनले बताइन् । 

चाडपर्वको समयमा मात्रै नभएर नियमित रुपमा अनुगमन गर्नुपर्नेमा स्थानीयहरुको जोड छ । नियमित रुपमा बजार अनुगमन गरेमा बजारमा अनुशासन कायम हुने उनीहरुले बताएका छन् । 

मेलौली नगरपालिकाको संयोजनमा गरिएको बजार अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय तस्वदेहीको पनि सहभागिता रहेको थियो । 

अनुगमनका क्रममा म्याद हेरेर मात्रै वस्तुभाउ विक्रिवितरण गर्न, सरसफाइमा ध्यान दिन, खाद्यवस्तुको लेबल अनिवार्य हेर्न लगायतका निर्देशन दिइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update