Sagun Khabar
बैतडीको भौनेली स्वास्थ्यचौकीमा निशुल्क अल्ट्रासाउण्ड शिविर, २६ जनाले सेवा लिए 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –४ स्थित भौनेली स्वास्थ्यचौकीमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको छ । गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । 

सुर्नया गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार दोश्रो चरण अन्तर्गत भौनेली स्वास्थ्यचौकीमा कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । 

स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका २६ जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए । शिविरमा अल्ट्रासाउण्ड गर्न आएका सबै २६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको महराले बताए । 

Atrya hospital

निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गर्भवती आमाहरुको स्वास्थ्यको चेकजाँच गर्नुका साथै उनीहरुलाई गर्भावस्थाका बिषयमा जानकारी दिने गरिएको शिविरमा सेवा दिँदै आएकी सिनियर अनमी मेनका शाहीले बताइन् । अल्ट्रासाउण्ड गर्दा गर्भवती आमा र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिने गरिएको उनले बताइन् । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको उनले बताइन् । उनले भनिन्,‘अल्ट्रासाउण्ड गर्दा आमा र पेटभित्रको बच्चाको अवस्था हेर्छौं । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्छौं । गर्भवती आमाहरुले खानुपर्ने पोषिलो खानेकुराको बारेमा जानकारी दिने गरेका छौं ।’

अल्ट्रासाउण्ड गरेपछि आमाहरुलाई सामूहिक रुपमा गर्भावस्था र यो बेला ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी दिने गरिएको सिनियर अनमी शाहीले बताइन् । 

आमा र बच्चाको मृत्यु हुन नदिन पालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बारेमा समयमै जानकारी लिएर मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । 

पहिलो चरणमा वडा नं ६, ७ र ८ मा रहेका स्वास्थ्य संस्थाहरुमा शिविरको आयोजना गरिएको थियो । असार १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएका शिविरमा ५६ जना गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । 

गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने कार्यक्रम अन्तर्गत दोश्रो चरण आजदेखि शुरु भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

भोलि वडा नं ३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकीमा शिविरको आयोजना हुनेछ भने पर्सि असोज २० गते वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज २१ गते वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिने हटैराज स्वास्थ्यचौकीका प्रमुख प्रकाश चन्दले जानकारी दिए । शिविर सञ्चालन भएको समयमा आफ्नो पायक पर्ने स्वास्थ्य संस्था गएर निशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा लिन गर्भवती आमाहरुलाई आग्रह समेत गरिएको छ ।  

गत बर्ष दुई सय बढी आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । सोही अनुुसार यो बर्ष पनि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update