Sagun Khabar
मालपोत कार्यालय बैतडीका हाकिमले सेवाग्राहीबाट घुस लिएको गुनासो 

बैतडी –जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपैयाँ घुस लिएको प्रमाण भेटिएको छ । 

कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ । 

Atrya hospital

कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचारीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपैयाँ घुस लिएको पीडितको गुनासो छ । 

कार्यालय प्रमुखले पटक–पटक घुस लिएको अडियो–भिडियोसहितको प्रमाण आफूसंग सुरक्षित रहेको सेवाग्राही बिष्टले बताए । काम सम्पन्न भएपछि पर्दाफास गर्ने हिसाबले आफूले शुरुदेखि प्रमाण सुरक्षित राखेको उनले बताए । 
घुस नदिँदा सम्म काम नहुने देखेपछि आफूले बाध्य भएर घुस दिएको पीडित बिष्टले बताए । 

घुस लिएको भिडियोका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राहीबाट घुस नलिएको दाबी गरेका छन् । यो बिषयमा आफूले अहिले धेरै नबोल्ने बताए । तपाँईले घुस लिएको फोटो र भिडियो बाहिर आएको भन्ने छ प्रश्नमा उनले भने ‘फोटो, भिडियो त अहिले बनाउँछन नि सर म पछि कुरा गरौंला । अहिले धेरै कुरा गर्दैन् ।मैले पैसा लिएको छैन् ।’
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update