Sagun Khabar
आमा र शिशु बचाउने अभियानमा सुर्नया गाउँपालिका 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आमा र नवजात शिशु बचाउने अभियान सञ्चालन गरेको छ । मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्ने लक्ष्यसहित पालिकाले कार्यक्रमहरु निर्धारण गरेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

गर्भावस्थामा हुन सक्ने जटीलताका बिषयमा समयमै पत्ता लगाएर उनीहरुलाई सम्भावित जोखिमबाट बचाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेर गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको महराले बताए । गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बिषयमा समयै पत्ता लगाएर केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालहरुमा रेफर गर्ने गरिएको महराले बताए । यसले आमा र शिशुको दुवैको ज्यान जोगाउन सहयोग मिलेको उनले बताए । 

Atrya hospital

चालु आर्थिक बर्षमा पनि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालनमा ल्याइएको महराले बताए । पहिलो चरणमा वडा नं ६, ७ र ८ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरेको महराले बताए । 

सुर्नया गाउँपालिका –६ स्थित शंकरपुर स्वास्थ्यचौकी, वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकी र शिखरपुर सामुदायिक स्वास्थ्य इकाइ र वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको उनले बताए । 
चारओटै स्वास्थ्य संस्थामा सञ्चालन भएको निशुल्क अल्ट्रासाउण्ड शिविरमा ५६ जना गर्भवती आमाहरुको स्वास्थ्य परीक्षण गरिएको शिविरमा सेवा दिँदै आएकी अनमी शान्ति बडालले बताइन् । गर्भवती आमाहरुको स्वास्थ्य अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाको बिषयमा जानकारी लिनका लागि अल्ट्रासाउण्ड गर्ने गरिएको उनले बताइन् । उनले भनिन् ‘हामीले शिविर सञ्चालन भएका बेला गर्भवती आमाहरुको स्वास्थ्य अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन्छौं । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरेका छौं । यसले आमा र शिशुको ज्यान जोगाउन ठूलो मद्दत गरेको छ ।’

ultrasound-1727785852.jpg
 

वडाकै स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउण्ड सेवा पाएपछि आफूहरुलाई सहज भएको गर्भवती आमाहरुले बताएका छन् । गाउँघरकै स्वास्थ्य संस्थामा चेकजाँच गर्न पाउँदा आफूहरुलाई सजिलो भएको सुर्नया ७ की शान्ति कुँवरले बताइन् । उनले भनिन् ‘हामीले गाउँघरमै अल्ट्रासाउण्ड सेवा पायौं । यसले हामीलाई धेरै सजिलो भयो । एकातिर गाडीभाडा बच्यो अर्कोतिर आफ्नै गाउँको स्वास्थ्य संस्थामा चेकजाँच गरेर आफ्नो स्वास्थ्य अवस्थाका बिषयमा थाहा पायौं ।’

गाउँघरकै स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड शिविर सञ्चालन हुँदा निकै सहज भएको सुर्नया ७ कै राजमती बिष्टले बताइन् । उनले भनिन् ‘समयमै आफ्नो र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा पायौं । यसले हामीलाई धेरै फाइदा भएको छ ।’

अल्ट्रासाउण्ड शिविर सञ्चालनको समयमा गर्भवती आमाहरुलाई पोषिलो खानेकुरा, गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, घरपरिवारको भूमिका लगायतका बिषयमा समेत छलफल गर्ने गरिएको अनमी बडालले बताइन् । यसले गर्भवती आमाहरुको हेरचाहमा परिवारको भूमिका पनि सकारात्मक हुँदै गएको उनले बताइन् । 

गाउँपालिकाका अन्य वडाहरुका स्वास्थ्य संस्थामा पनि छिट्टै शिविर सञ्चालन हुने सुर्नया गाउँपालिकाले जनाएको छ । गत बर्ष पालिकाभरीका २ सय बढी आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । 

ultrasiund-1727611857.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update