Sagun Khabar
सुर्नयाको शंकरपुर स्वास्थ्यचौकीमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ स्थित शंकरपुर स्वासथ्यचौकीमा गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन भएको छ । 

मंगलबार सञ्चालन भएको शिविरमा ११ जना गर्भवती आमाहरुले सेवा लिएका छन् । अल्ट्रासाउण्ड गरिएकामध्ये ३ जनामा समान्य जटीलता देखिएकाले उनीहरुलाई दोश्रो पटक पनि अल्ट्रासाउण्ड गर्न सुझाव दिइएको शंकरपुर स्वास्थ्यचौकीका प्रमुख कोमल भण्डारीले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्दै आएकोमा आज शंकरपुर स्वास्थ्यचौकीमा उक्त कार्यक्रम सम्पन्न गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँचका साथै उनीहरुको पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरिएको शिविरमा सेवा दिँदै आएकी अनमी शान्ति बडालले बताइन् । उनले भनिन् ‘अल्ट्रासाउण्ड गर्दा आमा र पेटभित्रको बच्चाको अवस्था हेर्छौं । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्छौं । गर्भवती आमाहरुले खानुपर्ने पोषिलो खानेकुराको बारेमा जानकारी दिने गरेका छौं ।’

अल्ट्रासाउण्ड गरेपछि आमाहरुलाई सामूहिक रुपमा गर्भावस्थाका बिषयमा जानकारी दिने र उनीहरुले अपनाउनुपर्ने सतर्कताका बिषयमा समेत जानकारी दिने गरिएको अनमी बडालले बताइन् । 

आमा र बच्चाको मृत्यु हुन नदिन पालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बारेमा समयमै जानकारी लिएर मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । यो बर्ष पहिलो चरणमा तीनओटा वडामा रहेको स्वास्थ्य संस्थाहरुमा शिविरको आयोजना गरिएको उनले बताए । 

असोज १३ गते पहिलो दिन शिखरपुर स्वास्थ्यचौकी र भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा ३५ जना गर्भवती आमाहरुले सेवा लिएका थिए । हिजो वडा नं ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको शिविरमा १० जना गर्भवती आमाहरुले सेवा लिएका थिए । 

गत बर्ष दुई सय बढी आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । सोही अनुुसार यो बर्ष पनि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । बाँकी रहेका वडाहरुमा पनि छिट्टै कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update