Sagun Khabar
बैतडीका विभिन्न स्थानमा चितुवाको त्रास 

बैतडी–बैतडीका विभिन्न स्थानमा चितुवा देखिन थालेपछि त्रास बढेको छ । पछिल्लो समयमा जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार चितुवा देखिन थालेपछि त्रास बढेको स्थानीयहरुले बताएका छन् । 

दशरथचन्द नगरपालिकाका वडा नं १ गुरुखोला खालमा शुक्रबार पासोमा परेको चितुवा शनिबार दिउँसो पासो चुँडालेर भागेपछि गाउँमा चितुवाको त्रास बढेको स्थानीय कृष्णदत्त भट्टले बताए । उनले भने ‘पछिल्लो समयमा साँझ–बिहानको समयमा हिँडडुल गर्न निकै डर लाग्छ । चितुवा घाइते अवस्थामा भएकाले आक्रमण गर्न सक्छ भन्ने डर लाग्ने गरेको छ ।’

Atrya hospital

यस्तै पाटन नगरपालिका वडा नं ४ को क्षेत्रमा दिउँसै चितुवा देखिएको स्थानीयहरुले बताएका छन् । सोमबार दिउँसो चितुवाले आक्रमण गरेर वडा नं ४ को जेउडेमा एक गाई मारेको छ । बस्ती नजिकै वनपाखामा चितुवाले गाईलाई आक्रमण गरेर मारेको स्थानीयहरुले बताएका छन् । चितुवाले घरपालुवा गाईवस्तु मार्नथालेपछि स्थानीयहरुमा त्रास बढेको बताइएको छ । 

दिउँसै बस्ती नजिकैका वनपाखामा चितुवा देखिन थालेको र घरपालुवा जनावर मार्न थालेपछि त्रास बढेको स्थानीय मानबहादुर चन्दले बताए । उनले भने ‘बस्ती नजिकै चितुवा देखिन थालेको छ ।यसले मानिसहरुमा त्रास बढेको छ ।’

पछिल्लो समयमा मानव–वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको डिभिजन वन कार्यालयका रेञ्जर दिनबन्धु रोकायाले बताए । वन्यजन्तुहरुको बासस्थान नष्ट हुँदै जानु, वनमा पानीका श्रोतहरु सुक्दै जानु लगायतका कारणले पनि चितुवा मानवबस्ती नजिक आउने गरेको उनले बताए । 

यसका साथै पछिल्लो समयमा पहाडी क्षेत्रमा खेतीयोग्य जमीन बाँझो हुँदै जाँदा त्यहाँ भएको झाडीमा चितुवालाई लुक्न सजिलो हुने भएकाले मानवबस्तीतिर पस्ने गरेको उनले बताए । 

चितुवाको आक्रमणबाट बच्नका लागि सचेत हुनुपर्नेमा रोकायाले जोड दिए । उनले भने ‘बिहान–साँझको समयमा हिँडडुल गर्दा ख्याल गर्नुपर्छ । बालबालिकाहरुलाई एक्लै यताउता जान दिनुभएन् ।’
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update