Sagun Khabar
महाकालीमा बेपत्ता भएका बैतडीका अमर धामीको अवस्था अझै अज्ञात 

बैतडी–लडेर महाकाली नदीमा बेपत्ता भएका बैतडीका अमरसिंह धामी अझै फेला पर्न सकेका छैनन् । 

जिल्लाको पुर्चौंडी नगरपालिका–५ कुवाकोट खाँड घर भएका ३३ बर्षीय धामी गएको शुक्रबार लडेर महाकाली नदीमा बेपत्ता भएका थिए । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका धामी घर फर्कने बेला झुलाघाट सडक छेउबाट महाकाली नदीमा खसेका थिए । 

Atrya hospital

दशैंका लागि घर आउँदै गरेका धामी एक्कासी सडक छेउबाट खसेर बेपत्ता भएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ । तर अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनक ढुंगानाले जानकारी दिए । 

महाकाली नदी किनारसंग जोडिएका सबै प्रहरी युनिटलाई बेपत्ता धामीको बारेमा जानकारी गराएको भएपनि उनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन् । 

बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले महाकाली किनार क्षेत्रमा बेपत्ता अमरको खोजी कार्य जारी राखेको छ । यस्तै सीमावर्ती भारतीय सुरक्षाकर्मीलाई पनि बेपत्ता धामीको खोजीमा सहयोग गरिदिन आग्रह गरिएको छ ।

महाकाली नदीमा धमिलो पानी र उर्लदो भेल भएकाले खोजतलासमा समस्या भएको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । 

यता मजदुरी गरेर घर फर्कदै गरेका धामी महाकालीमा बेपत्ता भएपछि घरपरिवारको विचल्ली भएको छ । बेपत्ता भएको चार दिनसम्म धामीको अवस्था अज्ञात हुँदा झन् समस्या भएको स्थानीय गणेश धामीले बताए । 
घरको एक्लो छोरा महाकालीमा बेपत्ता भएपछि अहिले उनका बुढेसकालका आमा–बुवा विक्षिप्त अवस्थामा रहेका छन् । यस्तै श्रीमती र छोराछोरीको समेत विचल्ली भएको धामीले बताए । 

दशैंको मुखमा भएको अकल्पनीय घटनाले गाउँ नै शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update