Sagun Khabar
बैतडीको शिखरपुर स्वास्थ्य इकाइमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, १० जनाले सेवा लिए 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको छ । गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । 

सुर्नया गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार आज शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य इकाइका प्रमुख हिक्मतबहादुर कुँवरले जानकारी दिए । 

Atrya hospital

सामुदायिक स्वास्थ्य इकाइको सेवा क्षेत्रभित्र रहेका १० जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए । १० जनामध्ये २ जनामा समान्य खालको जटीलता देखिएको र दोश्रो पटक पनि अल्ट्रासाउण्ड गर्न आग्रह गरिएको उनले बताए । 

निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गर्भवती आमाहरुको स्वास्थ्यको चेकजाँच गर्नुका साथै उनीहरुलाई गर्भावस्थाका बिषयमा जानकारी दिने गरिएको अनमी शान्ति बडालले जानकारी दिइन् । उनले भनिन् ‘अल्ट्रासाउण्ड गर्दा आमा र पेटभित्रको बच्चाको अवस्था हेर्छौं । केही जटीलता भएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्छौं । गर्भवती आमाहरुले खानुपर्ने पोषिलो खानेकुराको बारेमा जानकारी दिने गरेका छौं ।’

अल्ट्रासाउण्ड गरेपछि आमाहरुलाई सामूहिक रुपमा गर्भावस्थाका बिषयमा जानकारी दिने र उनीहरुले अपनाउनुपर्ने सतर्कताका बिषयमा समेत जानकारी दिने गरिएको अनमी बडालले बताइन् । 

आमा र बच्चाको मृत्यु हुन नदिन पालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थामा गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । गर्भवती आमाहरुको स्वास्थ्य अवस्थाका बारेमा समयमै जानकारी लिएर मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । यो बर्ष हिजोदेखि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको महराले बताए । पहिलो दिन शिखरपुर स्वास्थ्यचौकी र भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा ३५ जना गर्भवती आमाहरुले सेवा लिएका थिए । 

गत बर्ष दुई सय बढी आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । सोही अनुुसार यो बर्ष पनि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । भोलि गाउँपालिकाको वडा नं –६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update