Sagun Khabar
पाटन नगरपालिकाद्वारा इन्जिनियरसहित १३ जना करार कर्मचारीको म्याद थप नगर्ने निर्णय 

बैतडी–बैतडीको पाटन नगरपालिकाले योजना शाखा प्रमुख इन्जिनियर गोविन्दप्रसाद पन्तसहितका १३ जना करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । 

असोज १० गतेदेखि लगातार ३ दिन बसेको कार्यपालिका बैठकले कार्तिक १ गतेदेखि लागू हुने गरेर १३ जना कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको हो । 

योजना शाखा प्रमुख इन्जिनियर पन्त, योजना शाखामै कार्यरत सव–इन्जिनियर दिनेशकुमार ऐर, सवारी चालक दिनेश चन्द र कार्यालय सहयोगी पुष्पराज गिरी रहेका छन् ।

Atrya hospital

यस्तै पाटन नगरपालिका–४ मा कार्यरत सामाजिक परिचालक जन्तरी बिष्ट, वडा नम्बर ६ मा कार्यरत यज्ञराज पन्त र वडा नम्बर १० मा कार्यरत विमला कुँवरको करार अवधि पनि नथप्ने निर्णय गरिएको छ । 

यस्तै वडा नं ७ मा कार्यरत कार्यालय सहायक हरिकुमार विक, सामाजिक परिचालक रामदत्त भट्ट र प्रशु सेवा प्राविधिक महेशकुमार चन्दको करार अवधि नथप्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । 

वडा नम्बर १० स्थित सिद्धपुर स्वास्थ्यचौकीमा कार्यरत इश्वरी जोशी पन्त, वडा नम्बर ५ स्थित वसन्तपुर स्वास्थ्यचौकीमा कार्यरत शान्ति कठायत बोहरा , वडा नम्बर ३ मा कार्यरत लक्ष्मी लुहार दरबन्दी भन्दा बढी भएकाले उनीहरुको म्याद थप नगर्ने निणर्य भएको नगरपालिका स्रोतले बताएको छ ।

नगरपालिकामा दरबन्दी नभएका तर करारमा राखिएका कर्मचारीहरुलाई हटाइएको नगरपालिकाले दाबी गरेको छ । योजना शाखाका इन्जिनियर लगायतका कर्मचारीहरुको हकमा भने काम सन्तोषजनक नभएको नगरपालिकाले जनाएको छ । 

करारका १३ जना कर्मचारीको करार अवधि नथप्ने प्रस्ताव कार्यपालिकामा आएको र उक्त प्रस्ताव पास भएको नगर प्रमुख गौरीसिंह रावलले बताए । उनले भने ‘करारका कर्मचारीहरुको म्याद नथप्ने निर्णय भएको हो । यो निर्णय कार्यपालिका बैठकमा सर्वसम्मत पास भएको छ ।’

यसअघि पाटन नगरपालिकाले काम सन्तोषजनक नभएको भन्दै २०७९ पुषमा पनि तत्कालिन इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सव इन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गरेको थियो ।

यस्तै कार्यपालिका बैठकमा बजेट बाँडफाँडका बिषयमा पनि सहमति भएको छ । गएको असारमा नगरसभामा बजेट पेस भएपछि बजेट बाँडफाँड हुन सकेको थिएन् । यो कार्यपालिका बैठकले बजेट बाँडफाँडको टुंगो समेत लगाएको नगर प्रमुख रावलले बताए । यस्तै प्रत्येक वडालाई २५ लाखका दरले बजेट विनियोजन गरिएको छ । सोही सिलिङभित्र रहेर वडाहरुले योजना बनाउनेछन् । 

यस्तै कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय पनि गरेको छ । नगर क्षेत्रभित्रका विद्यालयहरुको समायोजन प्रक्रिया अगाडि बढाउने निर्णय भएको सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update