Sagun Khabar
सुर्नयामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन, पहिलो दिन ३५ जनाले सेवा लिए 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गर्भवती महिलाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थामा शिविर आयोजना गर्ने र सोही अनुसार आजदेखि शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

आज गाउँपालिकाको वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकी र वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा शिविरमा आयोजना गरिएको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए । 

Atrya hospital

दुवै स्वास्थ्य संस्थामा ३५ जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको छ । ३५ जनामध्ये ३ जनाको अवस्था जटील देखिएकाले उनीहरुलाई सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइएको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए ।

गर्भावस्थामा हुन सक्ने जटीलताका बिषयमा समयमै पत्ता लगाएर आमा तथा शिशुको मृत्यु हुन नदिन स्वास्थ्य संस्थामै गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्ने गरिएको हो । आमा र बच्चा दुवैको सुरक्षाका लागि हरेक बर्ष शिविरको आयोजना गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । उनले भने ‘हामीले हरेक बर्ष पालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा शिविरको आयोजना गरेर गर्भवती महिलाहरुको निशुल्क रुपमा अल्ट्रासाउण्ड गर्दै आएका छौं ।यसले आमा र बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा समयमै जानकारी हुन्छ । जटील अवस्था भएकाहरुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्दै आएका छौं । आमा र शिशु बचाउने अभियान अन्तर्गत हामीले यो कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’

ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन कार्यक्रम अन्तर्गत सोमबार वडा नं ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्ने कार्यक्रम रहेको छ ।यस्तै मंगलबार वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

पालिकाका अन्य वडाहरुमा पनि छिट्टै शिविरको आयोजना गर्ने तयारी रहेको छ । अन्य वडाहरुमा शिविर सञ्चालन हुने मिति तय हुन बाँकी रहेको महराले बताए । आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा शिविर सञ्चालन भएका बेला सेवा लिन सबै गर्भवती आमाहरुलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update