Sagun Khabar
बैतडीको सुर्नयामा गर्भवती महिलाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिने 
फाइल फोटो

बैतडी–बैतडीको सुर्नयामा गर्भवती महिलाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन हुने भएको छ । गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम आइतबार (भोलि)देखि सञ्चालन हुने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

पहिलो चरणमा गाउँपालिकाको वडा नं ६, ७ र ८ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । आइतबार सुर्नया गाउँपालिका वडा नं ७ स्थित शिखरपुर स्वासथ्यचौकी र वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने उनले बताए । 

Atrya hospital

शिविरमा आएर सेवा लिन सबै गर्भवती महिलाहरुलाई आग्रह गरिएको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए । 

यस्तै असोज १४ गते वडा नं ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइ र असोज १५ गते वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

शिविरमा गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाका बारेमा चेकजाँच गर्नुका साथै पेटभित्रको बच्चाको अवस्थाका बिषयमा समेत चेकजाँच गरिनेछ । 

गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाइ मातृ तथा शिशु मृत्यु रोक्नका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

बाँकी रहेका वडाका स्वास्थ्य संस्थाहरुमा पनि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिने र त्यसको मिति तय हुन बाँकी रहेको महराले बताए ।

आफ्नो नजिकको स्वास्थ्य संस्थामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन भएका बेला गएर सेवा लिन सबै गर्भवती महिलाहरुलाई आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update