Sagun Khabar
सुर्नया–८ मा मदिरा विक्रिवितरण समय तोकियो, जथाभावी विक्रि गर्न नपाइने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को क्षेत्रभित्र जथाभावी मदिरा विक्रि वितरण गर्न नपाइने भएको छ । वडास्तरीय उद्यमी महिलाको समूहको अगुवाई र वडा कार्यालय तथा अस्थायी प्रहरी पोष्ट ढोलेको समन्वयमा मदिराको कारोबारका लागि निश्चित समय तोकिएको हो । 

केही दिन पहिला भएको सर्वपक्षीय छलफलले वडाभित्र मदिराको कारोबारका लागि इजाजत प्राप्त गरेका व्यापारीहरुले साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै मदिराको कारोबार गर्न पाउने निर्णय भएको वडा अध्यक्ष भानबहादुर बोहराले बताए । बिहान तथा दिउँसोको समयमा मदिराको कारोबार गरेको पाइएमा कानुन अनुसार कारवाही गर्ने निर्णय समेत भएको छ । 

Atrya hospital

यस्तै २० बर्षमुनिका बालबालिका र ६० बर्षमाथिका जेष्ठ नागरिकलाई मदिरा विक्रि गर्न नपाइने निर्णय गरिएको वडा अध्यक्ष बोहराले बताए । इजाजत प्राप्त नगरेका व्यक्तिहरुले मदिराको कारोबार गर्न नपाउने र उनीहरुले कारोबार गरेको पाइएमा कानुन अनुसार कारवाही हुने वडा कार्यालयले जनाएको छ । 

यस्तै वडा क्षेत्रभित्र जुवातास खेल्न र खेलाउन पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताइएको छ । 

मदिराको जथाभावी विक्रिवितरणले गाउँघरमा हिंसाका घटनाहरु बढ्दै गएपछि समय तोकिएको वडा अध्यक्ष बोहराले बताए । 

मदिराको कारोबारले महिला र बालबालिका बढी हिंसामा परेकाले वडास्तरीय महिला उद्यमी समूहले मदिराको कारोबारमा रोक लगाउन पहल गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update