Sagun Khabar
श्रीकेदार मावि पिपलकोटको विव्यस अध्यक्षमा हरिशरण भट्ट 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–४ स्थित श्रीकेदार मावि पिपलकोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी हरिशरण भट्ट चयन भएका छन् । 

गएको सोमबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले भट्टलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत रहेका भट्ट लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । 

Atrya hospital

आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउन आफूले पहल गर्ने भट्टले बताए । ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको र अध्यक्षको जिम्मेवारी भट्टलाई दिइएको विद्यालय श्रोतले जनाएको छ । 

आगामी तीन बर्षका लागि चयन भएको विद्यालय व्यवस्थापन समितिले श्रीकेदार माविमा प्राविधिक शिक्षा विस्तारका लागि पहल गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भट्टले बताए । उनले भने ‘मैले निस्वार्थ भावनाका साथ विद्यालयको हितमा काम गर्छु । हाम्रो गाउँठाउँमा नानीबाबुहरुको प्राविधिक शिक्षामा पहुँच पुर्याउने लक्ष्य रहेको छ । यसमा सबैलाई सहयोग गरिदिन आग्रह गर्दछु ।’

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि होलीबाट संकलित भएको करीब ७ लाख रुपैयाँको अक्षयकोष समेत विद्यालयले बनाइसकेको अध्यक्ष भट्टले बताए । 

यस्तै अभिभावकहरुको भेलाले राजेन्द्रप्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ भने विरेन्द्रप्रसाद भट्टको अध्यक्षतामा अक्षयकोष सञ्चालक समिति गठन गरिएको छ । 

कक्षा १२ सम्मको पढाई हुने श्रीकेदार मावि पिपलकोटमा अढाईसय जति विद्यार्थी अध्ययनरत रहेका छन् । 

श्रीकेदार मावि पिपलकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई समेत विद्यालयको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update